अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।
उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।
क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भन्नुभयो “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्यूयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो । ”
सोमवार आयोजित कार्यक्रमपछि राससलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो ।”
कार्यक्रममा सहभागी हुनुभएका र लामो समयदेखि न्यूयोर्कमा बस्दै आउनुभएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौँ, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल हुनुभएको थियो । त्यसैले सोमबार ७०आँै सगरमाथा दिवस पनि मनाइएको थियो । सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी हुनुभएको थियो । नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
गणतन्त्र दिवस मनाइयो
गणतन्त्र दिवस स्थापना भएको अवसरमा अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा झण्डोत्तोलनसहित कार्यक्रम गरिएको छ । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले वाशिङ्टन डिसीस्थित नेपाली दूतावास परिसरमा एक समारोहबीच झण्डोत्तोलन गर्नुभयो । सो अवसरमा नेपाली नियोगका उपप्रमुख कुमार खरेललगायत दूतावासका अधिकारीहरू सहभागी हुनुभएको थियो । उक्त अवसरमा राजदूत खत्रीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुभएको थियो ।
यसैगरी नेपाली महावाणिज्य दूतावास न्यूयोर्कमा गणतन्त्र दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले आमन्त्रित महानुभावलाई स्वागत गर्नुभएको थियो ।रासस
