म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन्् ।

मालिका गाउँपालिका २ रुमकीबेलकुमारी सुनारले अमेरिका, जापान बेलायत, हङकङलगायत देशमा रहेका आफन्तलाई कोसेली पठाउन जङ्गली रातो च्याउ खरिद गर्न टाढा–टाढाबाट मानिस गाउँमा नै आउने गरेको बताउनुभयो ।

“विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरवाङ बजारबाट २० किलो रातो च्याउको माग आएको छ, त्यसैका लागि तीन जनालाई दैनिक ज्याला दिएर लेकतिर च्याउ खोज्न पठाएकी छु”, सुनारले भन्नुभयो ।

उहाँले जङ्गलबाट खोजेर ल्याएको रातो च्याउलाई घाममा सुकाएर सुकुटी जस्तो बनाइ बिक्री गर्दै आउनुभएको छ । “घुम्न आउने पर्यटकले पनि किनेर लैजान्छन्, अहिले च्याउको सिजन भएकोले प्रतिकिलो रु आठ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गरेका छौँं” उहाँले भन्नुभयो ।

म्याग्दीका गुर्जा, लुलाङ, मुदी, ओखरबोट, देवीस्थान, रुम लगायतका ठाउँका जङ्गलमा यो च्याउ पाइन्छ । जेठदेखि असोजसम्म उच्च लेकाली जङ्गलमा पाइने यो च्याउ शुद्ध प्राकृतिक च्याउ भएकाले यसको सेवनले विभिन्न किसिमका रोगसमेत निको हुने दरवाङका हीराबहादुर सिउथानी मगरको भनाइ छ । रासस