उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित तस्बिर प्रदर्शनीको उपप्रधानमन्त्री श्रेष्ठले अवलोकन गर्नुभएको हो । तस्बिर प्रदर्शनीसँगै उपप्रधानमन्त्री श्रेष्ठले राससको समाचार सङ्कलन शाखा तथा नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय र फोटो सम्पादन शाखाको निरीक्षणसमेत गर्नुभएको थियो । सो क्रममा उहाँले राससले सम्प्रेषण गर्ने सेवा प्रवाहबारे चासोपूर्वक जानकारी लिनुभएको थियो ।

अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनी आयोजना गरिएको सन्दर्भमा जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुभयो ।

यसैगरी, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकद्वय श्यामप्रसाद रिमाल र सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायत राससका पदाधिकारी एवं सञ्चारकर्मीले उपप्रधानमन्त्री श्रेष्ठलाई स्वागत गर्नुभएको थियो ।

राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहबीच उद्घाटन गर्नुभएको सो प्रदर्शनी सर्वसाधारण सबैका लागि खुला छ । बिहान ७ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने सो प्रदर्शनी यही जेठ १७ गतेसम्म सञ्चालन हुनेछ ।रासस