बागमती प्रदेशका प्रमुख यावदचन्द्र शर्माले नेपालको संविधानमा प्रदत्त मौलिक हक तथा मानवअधिकारको प्रत्याभूत गर्न प्रदेश सरकारको भूमिका गतिशील हुनुपर्ने बताउनुभएको छ ।
सोह्रौँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारको मूल समारोह समितिद्वारा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले जनताको आर्थिक समृद्धिका लागि प्रदेशमा सरकारले दलगत स्वार्थभन्दा माथि उठेर कार्यक्रम तर्जुमा गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख शर्माले प्रदेशमा सुशासन ल्याउन र बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न सके प्रजातान्त्रिक गणतन्त्रप्रति जनताको आस्था वृद्धि हुने र कुनै पनि पक्षले बाह्य हमला गर्दा गणतन्त्रको विकल्प खोज्न नसकिने दृढता व्यक्त गुर्नभयो ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुकमा राजनीतिक परिवर्तन गरी ल्याइएको गणतन्त्रलाई सबै पक्षबाट सकरात्मक सहयोग आवश्यक रहेको चर्चा गर्नुहुँदै प्रदेश सरकारले जनताको भावनाअनुसार भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मौलिक हकको संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको १३ वटै जिल्लामा सडक सञ्जाल, सिँचाइ, कृषि, विद्युत् विस्तार, उच्च शिक्षा, स्वास्थ्योपचारलाई गुणस्तरीय सेवा प्रदान गर्न सरकारले नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम ल्याएको पनि प्रस्ट पार्नुभयो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले सङ्घीयतालाई दरिलो एवं प्रभावकारी बनाउन सङ्घीय सरकारले प्रदेश सरकारलाई संविधानबमोजिमको अधिकार प्रत्यायोजित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सङ्घीय सरकारले स्थानीय निकायलाई पनि सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले पनि स्थानीय निकायको समस्यालाई निराकरण गर्ने उद्देश्यले योजना, बजेटको बाँडफाँट र प्राविधिक उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । श्रोत रासस