सरकारले ‘आधुनिक जीवनको आधार, सूचना प्रविधि र सञ्चार’ मान्यतालाई आत्मसात् गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाउने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको दुवै बैठकमा आव २०८०÷८१ को बजेट प्रस्तुत गर्दै नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउने बताउनुभयो ।

मन्त्री महतले उच्च क्षमताको अप्टिकल फाइबरमार्फत इन्टरनेट ब्राडब्याण्ड सेवालाई स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय, क्याम्पस र स्वास्थ्य संस्थामा पु¥याउने योजना प्रस्तुत गर्नुभयो ।

“द्रुतगतिको इन्टरनेट सेवा पु¥याउन फोरजी सेवा विस्तार गरिने छ, डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गरी कार्यान्वयनमा लगिने छ, डिजिटल साक्षरता बढाई नागरिक एपको प्रयोग गरी पहुँच विस्तार गरिनेछ”, उहाँले भन्नुभयो ।

त्यसैगरी सरकारले ललितपुरको खुमलटारमा सूचना प्रविधि ज्ञान पार्क स्थापना गर्नुका साथै विद्युतीय तथ्याङ्कको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गर्ने भएको छ । कोहलपुरमा डाटा सेन्टर र ललितपुरका इन्टरनेट एक्सचेञ्ज सेन्टरको निर्माणलाई तीव्रता दिन बजेटको व्यवस्था गरेको मन्त्री महतले बताउनुभयो । रासस