कहाली लाग्दा भीर । खोला किनारदेखि पहाडको चुचुरोसम्म फैलिएका पहरा । लावालस्कर झुण्डिएका मौरीका गोला । बागलुङको ताराखोला गाउँपालिका–५ का केही सामुदायिक वन क्षेत्रमा अहिले साहसी युवा तिनै मौरीका गोलाहरू चहारिरहेका छन् ।
भीरमा झुण्डिएर युवाहरू भीर माहुरीको मह निकाल्न व्यस्त छन् । बागलुङको ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका, गलकोट नगरपालिकाको निलुवा क्षेत्र र ढोरपाटन नगरपालिकाका भीरमा मौरी पाइन्छन् । तिनै भीरमा बास गर्ने मौरीले वर्षभरि मेहनत गरेको मह युवाले साहसका साथ निकाल्ने प्रचलन छ ।
जेठ महिना लागेसँगै ताराखोलामा भीर माहुरीको मह निकाल्न थालिएको हो । यहाँका कतिपय भीरमा मङ्सिर महिनामा पनि मह निकाल्ने गरिएको छ । ठूलाभीर र जुल्फे सामुदायिक वनमा गरी १२ घार माहुरीको मह काढ्न थालिएको स्थानीय नारायण घर्ती मगरले जानकारी दिनुभयो । हालसम्म एक सय लिटर मात्र मह जम्मा भएको छ ।
भीर माहुरीको मह दुई सय मिटर अग्लो पहरामा ८० देखि एक सय २० आख्ले पराङ झारी, धुपधजा, हाचक, भुस्केटसहित पूजा गरी मह काढ्न सुरुआत गर्ने चलन छ । मह भने भिराउटेले वनको देवी देवतालाई पूजा गरेपश्चात मात्र खाने गरिन्छ । पहिले जस्तो यो वर्ष मह उत्पादन नभएको र उपयुक्त समयमा दुई सय लिटरभन्दा बढी उत्पादन हुने घर्तीले बताउनुभयो । गत वर्ष सोहीे स्थानमा १६ घार माहुरीको मह काढिएको थियो । महलाई बजारमा गत वर्ष एक मानालाई रु एक हजार हजार पाँच सयमा बिक्री गरिएको थियो । यो वर्ष भने मूल्य वृद्वि गरेर रु दुई हजार माना बिक्री गरिने उनीहरूको योजना छ । यहाँका भीरबाट निकालिएको मह कतै वनको आम्दानी हुन्छ भने कतै मह निकाल्नेहरूले त्यसको फाइदा लिन्छन् । रासस
