बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच प्रहरी एकाइ भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ ।
बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, ९७ लाख ३३ हजार, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला ब्यारेक भवन ८४ लाख २२ हजार, प्रहरी चौकी खाङसाङ फिक्कल–४ सिन्धुली एक करोड तीन लाख ३९ हजार, जिल्ला ट्राफिक कार्यालय रामेछाप एक करोड ३२ लाख ६१ हजार, इलाका प्रहरी कार्यालय भवन मकवानपुरगढी एक करोड ९८ लाख एक हजार रकम दिने निर्णय भएको बागमती सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, बैठकले स्थानीय विपद् कोषमा रु एक करोड जम्मा गर्ने निर्णय गरेको उहाँले जनाउनुभयो । प्रदेश सरकारले गौरीशङ्कर गाउँपालिका दोलखा १० लाख, गोकुलगङ्गा गाउँपालिका रामेछाप १० लाख, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक १० लाख, म्यागङ गाउँपालिका नुवाकोट १० लाख, नौकुण्ड गाउँपालिका रसुवा १० लाख, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ १० लाख, बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक १० लाख, राक्सिराङ गाउँपालिका मकवानपुर १० लाख, मरिण गाउँपालिका सिन्धुली १० लाख, इच्छाकामना गाउँपालिका चितवन १० लाख, प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप ससर्त अनुदान दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसका साथै नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र एक करोड १० लाख र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख गरी कूल एक करोड ९० लाख रहेको उहाँले जनाउनुभयो ।
साथै मन्त्रिपरिषद्को निर्णयले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालनसम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
साथै ६ सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन रु १० लाख दिने निर्णय गरेको उहाँले जनाउनुभयो ।रासस