वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले बाँकेस्थित कम्दी जैविक मार्ग सङ्कटमा पर्दै गएको छ । नेपाल–भारत सीमावर्ती निकुञ्जमा वन्यजन्तु आउजाउ गर्ने कम्दी जैविक मार्ग मानव बस्ती विस्तार, वन फँडानी र अतिक्रमणका कारण ठाउँ–ठाउँमा मार्ग टुक्रिँदै गएको छ ।

मुलुकका प्रमुख सात जैविक मार्गभित्र पर्ने कम्दी जैविक मार्गलाई वन्यजन्तु आउजाउका लागि निकै सहज मानिन्छ । दक्षिणतर्फ भारतको सुहेलवा राष्ट्रिय निकुञ्ज, पूर्व कपिलवस्तुको सरकारी वन, उत्तर बाँके राष्ट्रिय निकुञ्जलाई कम्दी जैविक मार्गले जोडेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।

राप्ती सोनारी गाउँपालिका–६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा राप्ती नदीको बाढी र अतिक्रमणका कारण जैविक मार्ग टुक्रिएको तथा कम्दी जैविक मार्ग टुक्रिएको स्थानमा जङ्गली जनावार असुरक्षित हुने र बस्तीमा पस्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाह भनाइ छ ।

अतिक्रमणका कारण टुक्रिएको वन जोड्न अतिक्रमण हटाउने र खाली सरकारी जग्गामा वृक्षरोपण गर्न सामुदायिक तथा राष्ट्रिय वन विकासका कार्यक्रम तय गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेशबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार कम्दी जैविक मार्गअन्तर्गत राप्ती सोनारी–६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा भएको करिब एक सय हेक्टर अतिक्रमण वन कार्यालयले हटाएको छ । अतिक्रमणका कारण खाली भएको क्षेत्रमा अहिले तारवार गरेर वृक्षरोपण गर्न थालिएको छ । रासस