नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पताल भोजपुरका साथै अन्य चार स्वास्थ्य संस्थालाई रु ४० लाख बराबरको उपकरणसहितका सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव डा चक्रबहादुर कार्कीको पहलमा आएका ती सामग्री जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको हो । दातृ राष्ट्रबाट स्वास्थ्य मन्त्रालयलाई प्राप्त ती स्वास्थ्य उपकरणसहितका सामग्री आफ्नो पहलमा भोजपुरमा ल्याएको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गम जिल्लाका स्वास्थ्य संस्थामा देखिने समस्या निराकरण गरी नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मैले पहल गरेको हुँ ।”
कार्कीका अनुसार स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको सामग्रीमा अक्सिजन कन्सनट्रेटर, मास्क, गाउन सेट, पल्स अक्सोमिटर, सिटामोललगायत रहेका छन् ।
जिल्ला अस्पताल, भोजपुर नगरपालिका–३, गुप्तेश्वर, वडा नं ८, वडा नं १० र वडा नं १२ मा रहेका स्वास्थ्य संस्थालाई ती सामग्री हस्तान्तरण हुने कार्कीले जानकारी दिनुभयो । जिल्ला अस्पतालका लागि आएका सामग्री अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राई, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको उपस्थितिमा कार्कीले जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई शनिबार हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला अस्पतालमा देखिएका समस्याहरू समाधानमा यी सामाग्रीहरू महत्त्वपूर्ण हुने अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईले बताउनुभयो । नागरिकको स्वास्थ्यका लागि यी सामग्री सहयोगी बनेको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले बताउनुभयो ।
जिल्ला अस्पतालका लागि दुई थान अक्सिजन कन्सनट्रेटर, दुई हजार थान सर्जिकल मास्क, एक सय ५० थान गाउन, १० थान पल्स अक्सोमिटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका १२, टक्सारमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर दुई थान, गाउन सेट २० थान, सिटामोल पाँच सय थान, मास्क एक हजार थानलगायत सामाग्री हस्तान्तरण भएको छ ।
भोजपुर नगरपालिका–८ मा रहेको स्वास्थ्य संस्थाका लागि १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, सिटामोल दुई हजार थान, गाउन २० थान हस्तान्तरण गरिने छ भने वडा १० मा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, मास्क एक हजार थान, सिटामोल पाँच हजार थानलगायत सामग्री हस्तान्तरण हुनेछ ।
भोजपुर नगरपालिका–३, गुप्तेश्वरमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, पल्स अक्सोमिटर दुई थान, फेटोस्कोप एक थान लगायतका सामग्री हस्तान्तरण हुने पहल कर्ता नेपाली कांग्रेसका जिल्ला सचिव डा कार्कीले जानकारी दिनुभयो ।
अन्य स्वास्थ्य संस्थाका लागि पनि सामग्री ल्याउन पहल भइरहेको कार्कीले बताउनुभयो । “स्वास्थ्य मन्त्रालयसहित विभिन्न निकायसँगको समन्वयमा अहिलेका सामग्री आएका हुन्, अन्यका लागि पनि मेरो पहल निरन्तर हुनेछ ।” कार्कीले भन्नुभयो । रासस