बागलुङको गलकोट नगरपालिका गण्डकी प्रदेशको तेस्रो बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिका बालमैत्री पालिका घोषणा भएको हो । नगरपालिकाका ११ वटै वडा बागलमैत्री वडा घोषणा भएका छन् ।

पालिकाका सबै वडा बालमैत्री वडा घोषणा भएपछि प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडाको प्रमुख आतिथ्यतामा आज गलकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गलकोटलाई बालमैत्री नगर घोषणा गरिएको नगरपालिका कार्यालयले जनाएको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाका १० पालिकामध्ये गलकोट पहिलो बालमैत्री पालिका बनेको छ ।

नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि विसं २०७७ मङ्सिरदेखि ५१ सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार, अभिमुखीकरणलगायत काम सुरु गरेको थियो । पालिकाले तीन वर्र्षदेखि ११ वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि प्रत्येक वडामा एकजनाका दरले ११ जना सहजकर्ता र एक जना अधिकृत खटाएर काम गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

बालमैत्री नगर घोषणाका लागि शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायत ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समिति र प्रदेश सरकारबाट प्रमाणित भएपछि आज बालमैत्री नगरका रूपमा घोषणा गरिएको उहाँले बताउनुभयो ।

“नगरपालिकाले तीन वर्षदेखि अथक प्रयासपछि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गरेर पालिका बालमैत्री नगर घोषणा भएको छ”, नगरप्रमुख शर्मा गैरेले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधारलगायत विषयमा आवश्यक अङ्कभार प्राप्त गरेका छौँ ।रासस