दोस्रो बागमती प्रदेश खेलकुद २०८० मा काठमाडौँ टीम च्याम्पियन बनेको छ । प्रतियोगितामा काठमाडौँले ३१ स्वर्ण, २२ रजत र २५ कास्य पनि जित्न सफल भयो ।
डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो । चितवनले २३ स्वर्ण, २४ रजत र २५ कास्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कास्य पदक प्राप्त गरेका छन् ।
विजेता टोलीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गर्नुभयो ।
चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कूल एक सय ६८ स्वर्ण पदक गणना भएको थियो । बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कास्य विजेताले क्रमश ः पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार पाएका छन् ।
फुटबलमा मकवानपुर च्याम्पियन
दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ ।
हेटौँडाको पिप्ले क्याम्पा रङ्गशालामा आज सम्पन्न फाइनलमा मकवानपुरले काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन भएको हो ।
खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौँमाथि ४–३ को जित रच्न सफल भएको थियोे । मकवानपुरका निर्मल बल र काठमाडौँका खेमराज तामाङको प्रहार गोलमाथि परिणत हुन सकेन ।
मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौँको तीन प्रहार मात्र गोलमा परिणत भयो । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रितम स्याङ्बोले गोल गरे ।
काठमाडौँका लागि वाङ गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । चौथो पेनाल्टी प्रहार गर्न आएका काठमाडौँका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्न सफल भएको हो । चितवनका कप्तान प्रितम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भएका छन् ।रासस