नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभएको हो । प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उहाँको भनाइ थियो ।

“प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ”, सभापति देउवाले भन्नुभयो । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस एक सिक्काका दुई पाटा भएको बताउनुभयो । “प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व रहँदैन, लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्छ”, उहाँले भन्नुभयो । पत्रकार महासङ्घको निर्वाचन र नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीका नेताको आड लाग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको विश्वकर्माले बताउनुभयो । प्रेस युनियनमा व्यावसायिक क्षेत्रलाई प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसभित्र उत्साह थप्नुपर्ने बताउनुभयो । “नौ महिनासम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन, पार्टीभित्र विभाग गठन भएका छैनन्, यसका कारण पार्टी कमजोर बन्दै गएको छ”, उहाँले भन्नुभयो ।रासस