पराम्परागत खेती गर्दै आएका भोजपुरको श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ । आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसानले किवी खेती गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको हो ।
पौवादुङमा गाउँपालिकाले यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भू–भागमध्ये उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क्षेत्र घोषणा गरेपछि यहाँका स्थानीयवासी व्यावसायिक किवी खेतीमा जुटेका छन् । बहुवर्षीय बालीका रूपमा मानिएको किवीबाट अन्य बालीको तुलनामा कम मेहनतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका एक सय बढी कृषकले किवी खेती गर्दै आएका छन् ।
यस क्षेत्रको तीन सय बढी रोपनीमा किसानले किवीको खेती गर्दै आएको वडा कार्यालयले जनाएको छ । यो क्षेत्रलाई किवीको ‘ब्लक’ नै बनाएर लैजाने योजनाका साथ काम भइरहेको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । “हामीले श्यामशिला क्षेत्रमा किवी खेतीको विस्तारमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “पकेट क्षेत्र घोषणा गरेर किसानलाई आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । अब यस क्षेत्रलाई किवी ब्लकका रूपमा विस्तार गर्ने भावी योजना छ ।”
एक पटक विस्तार गरेपछि वर्षौैंसम्म राम्रो आम्दानी लिन सकिने भएपछि व्यावसायिक किवी खेतीमा जुटेको स्थानीय कृषक मधु सुब्बाले बताउनुभयो । अहिले करिब पाँच रोपनी क्षेत्रमा किवी विस्तार गरेको उहाँको भनाइ थियो । “अहिले हाम्रो क्षेत्रमा धेरै किसानले व्यावसायिक किवी खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “थोरै मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान यसमा आबद्ध भएका हुन् ।” उहाँले गाउँपलिका र वडाले आवश्यक सहयोग गरेपछि किसानलाई थप हौसला मिलेको बताउनुभयो ।रासस