राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ ।

कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । “एक्जिम बैंक अफ इन्डियाको रु पाँच अर्ब ऋण सहयोगमा यस खण्ड निर्माणको काम सुरु भएको थियो”, उहाँले भन्नुभयो, “योजनाको म्याद यही जेठ ३० गतेसम्म रहेको छ, जम्मा एक सय ३१ किलोमिटर खण्डमध्ये हालसम्म एक सय १५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।” पाल्पामा चार किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजनाप्रमुख पौडेलले बताउनुभयो ।

“बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५÷२० दिनभित्र सकिन्छ”, उहाँले भन्नुभयो, “तर गैँडाकोट–राम्दी खण्डका विभिन्न छ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन ।” यस खण्डमा ठूला–चार र साना दुई पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने योजनाप्रमुख पौडेलले बताउनुभयो । लामो समय भइसक्दासमेत गैँडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।

“सात मिटर चौडाइ रहेको यस सडकमा नवलपुरको गैँडाकोटबाट पाल्पाको राम्दीसम्म नै सवारीसाधन सञ्चालन भइरहेको छ । यस सडकमा रुट परमिट छैन तर स्थानीयवासीको सहजताका लागि सवारीसाधन सञ्चालन भइरहेका छन्”, योजनाप्रमुख पौडेलले भन्नुभयो, सडक निर्माणको काम इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले गरेकाले योजनाको म्याद सकिनासाथ पुनः अर्को ठेक्का आह्वान गरेर पहिरो भएको स्थानमा पहिरो रोकथामसँगै कालोपत्र सुरु गरिने छ । रासस