पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

यहाँका वडाभित्र रहेका कालिगढलाई आवश्यक पर्ने प्राविधिक उपकरण खरिदमा वडाले सहयोग गरेको जनाएको छ । दिनानुदिन पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि उनीहरुलाई आवश्यक सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो । वडाले रु एक लाख बजेट विनियोजन गरेर आवश्यक उपकरण खरिदमा सहयोग गरेको उहाँको भनाइ छ ।

“पछिल्लो समय वडामा भएका कालिगढ पलायन हुँदै गएको अवस्था छ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ, उहाँहरुको आवश्यकतालाई पहिचान गर्दै वडाले आवश्यक सहयोग गर्दै आएका छ ।”

भोजपुरे खुकुरीले नाम कमाएको भोजपुरमा कालिगढ पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा लागेको वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीय सरकारले यसको स्थायित्व तथा संरक्षणमा जोड दिएको उहाँको भनाइ छ । “विगतमा हाम्रो ठाउँमा कालिगढ धेरै सङ्ख्यामा थिए”, उहाँले भन्नुभयो, “अहिले व्यावसायिक रुपमा यो काम गर्ने छ÷सात घरमात्र छन्, संरक्षण गरिएन भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ ।रासस