काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको जनप्रतिनिधिले शपथ लिएको बिहीबार ठीक एक वर्ष पूरा भयो । शपथको एक वर्ष पूरा भएकै दिन नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ नामक पुस्तक जनप्रतिनिधि, स्थानीय नागरिक, दलका स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीमाझ सार्वजनिक गर्नुभयो ।

पुस्तकमा समेटिएका विकासका विवरण उल्लेखित संक्षिप्त विवरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “हामीले एक वर्षको अवधिमा अघिल्ला जनप्रतिनिधिले सुरु गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माण कामको सुरुआत गरेका छौँ ।” उहाँले नगरमा १८ वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको सुरुआत, नसर्ने रोग उच्च रक्तचाप, मधुमेह (सुगर), प्रोटिन परीक्षण निःशुल्क र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था, नगरका ११ वटै वडाका विभिन्न एक सय सात स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

यस्तै नगरले स्थानीय पाठ्यक्रम निर्माणको सुरुआत, बालमैत्री स्थानीय शासन सुरुआत, सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन, ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमन, रु आठ करोड ३६ लाख लागत अनुमान तयार गर्दै बहुवर्षीय योजनामा समावेश गरी कृषि उत्पादन भण्डारणका लागि कोल्डस्टोर (शीतभण्डारण) निर्माणको सुरुआत, घरदैलोमै सामाजिक सुरक्षा वितरण, आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधनका चालक र यात्रुलाई कारबाही गर्न थालिएको लामाले जानकारी गराउनुभयो । रासस