चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तरराष्ट्रिय कारोबार तत्काल साकार हुने देखिदैन ।

अन्तरराष्ट्रियमुद्रा बनेको अमेरिकी डलर र बेलायतबाहेकका युरोपेली मुलुकमा प्रचलनमा रहेको युरोसँग प्रतिस्पर्धामा रहेको चिनियाँ युआन केही देशमा लेनदेनको मुद्रा बने पनि त्यसलाई सहजै स्वीकार गर्ने वातावरण बनेको छैन तर चीनले यसलाई अन्तरराष्ट्रियकरण गर्न वित्तीय प्रणालीमा निरन्तर दबाब दिइरहेको छ । संयुक्त राज्य अमेरिकाले भूराजनीतिक उपकरणका रूपमा आफ्नो मुद्राबाट लाभ उठाउन हदैसम्मको प्रयास गरिरहँदा चीनले आफ्नो प्रभावशाली अन्तरराष्ट्रिय भूमिका प्राप्तिका निम्ति निरन्तर सङ्घर्ष गर्नु असामान्य होइन ।

दोस्रो विश्वयुद्धपछि विकसित भएको विश्वव्यापी वित्तीय संरचनामा अमेरिकाको अनौठो भूमिकाले चीनको आरएमबी अन्तरराष्ट्रियकरणको प्रयासमा गएको हो । सन् १९४५ देखि अमेरिकी डलरले सङ्घीय रिजर्भ प्रणाली अर्थात् अमेरिकाको केन्द्रीय बैंकिङ प्रणालीमा यसको विश्वव्यापी उपलब्धतालाई नियन्त्रण गर्दै विश्व मुद्राको रूपमा काम गर्दै आएको छ । वित्तीय सङ्कटको समयमा विश्वव्यापी आर्थिक पुनरुत्थान गर्न पनि डलरको महत्वपूर्ण स्थान रहेको छ । विश्व मुद्रा बजारमा डलरका कारण अमेरिका विशेषाधिकार प्राप्त देश बनेको छ । साथै अमेरिकाको तथाकथित यो विशेषधिकारको आलोचना पनि हुने गरेको छ । रासस