रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् ।
वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार अन्य दिन बढीमा तीन हजारले मात्र चिडियाखानाको अवलोकन गर्ने गरेका थिए आज भोटो देखाउने दिन भएकोले उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् ।
चिडियाखाना अवलोकनकै लागि अन्य दिन रु दुई सय तिर्नुपर्ने भए पनि आज रु ७५ मै अवलोकनको व्यवस्था मिलाइएको अधिकारी कोइरालाले बताउनुभयो । कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलिरहेको चिडियाखानामा पछिल्लो समय अवलोकनकर्ताको भीड नै लाग्ने गरेको छ । उहाँका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक रु १४ देखि १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष रु २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
“यही अनुपातमा अवलोकनकर्ता आउने हो भने लक्ष्यमा पुग्न हामीलाई कठिन छैन । यहाँको आम्दानीको स्रोत भनेको अवलोकनकर्ताबाट आउने प्रवेश शुल्कवापतको रकम नै हो”, अधिकारी कोइरालाले भन्नुभयो । रासस