कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।

राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको सङ्ख्या ३० दशमलव तीन प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ (५१ दशमलव २८ प्रतिशत) छ भने पुरुष २४ लाख १७ हजार तीन सय २८ (४८ दशमलव ७२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसङ्ख्या ४५ लाख ३४ हजार नौ ४३ थियो । जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको सङ्ख्या दुई हजार नौ सय २८ (शून्य दशमलव शून्य एक प्रतिशत) मध्ये प्रदेशमा यसको १० दशमलव चार प्रतिशत छ ।

प्रदेशमा वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ८५ प्रतिशत छ । जसमा झापामा सबैभन्दा बढी एक दशमलव ९७ प्रतिशत र सबैभन्दा कम खोटाङ छ । जनगणनाअनुसार प्रदेशको कूल जनसङ्ख्याको ६२ दशमलव आठ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् भने १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लोको उमेर समूहका जनसङ्ख्या क्रमशः २६ प्रतिशत र ११ दशमलव दुई प्रतिशत छ ।रासस