नेपाल नेत्रज्योति सङ्घ दाङले लमहीमा आँखासँगै कान उपचार सेवा सञ्चालन गर्ने भएको छ । लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।
लमही नगरपालिका–५ रातोडाँडास्थित नगरविकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी उपचार सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कान उपचार सेवा सञ्चालनमा लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ ।”
उहाँले कार्यक्रममा लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजनासमेत प्रस्तुतीकरण गर्नुभएको थियो । चालु आर्थिक वर्षमा लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको निःशुल्क उपचार सेवामा सहजीकरण गरिरहेका गरेका छन् ।
लमहीका सबै वडामा निःशुल्क आँखा जाँच गरिएको छ । जाँच गरिएका छ सय ५० जनामध्ये चार सय छ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ । बाँकी दुई सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । गढवाको सबै वडामा निःशुल्क आँखा जाँच गर्दा चार सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र तीन सय चार जनाको शल्यक्रिया गरिएको छ । अब एक सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी छ । राजपुर गाउँपालिकामा पाँच सय ५१ र राप्ती गाउँपालिकामा आठ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।रासस
