प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सबल, सक्षम र योग्य स्वास्थ्यकर्मीको माग पूरा गर्न संस्थानको ठूलो योगदान रहेको बताउनुभयो ।

“नेपाल राष्ट्रका लागि अत्यन्त आवश्यक चिकित्सा जनशक्ति उत्पादन गरी समग्र देश र नेपाली सेनाका लागिसमेत व्यावसायिक दक्षता हासिल गरेका सबल, सक्षम र योग्य स्वास्थकर्मी प्रवाह गर्न यस संस्थाले ठूलो योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो ।

प्रधानसेनापति शर्माले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको शिक्षा ऐनको परिधिभित्र रही संस्थानले विभिन्न शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आएको बताउनुभयो । उहाँले चिकित्साशास्त्रसम्बन्धी नियामक निकाय चिकित्सा शिक्षा आयोगबा प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

“दक्ष जनशक्ति सुविधा सम्पन्न पूर्वाधार निर्माण गरेर संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले राष्ट्रको स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने कार्यमा यस संस्थानले सधैँ नै उच्चरुपको मान्यता राखन र सोही अनुसारका योग्य चिकित्सक उत्पादन गर्न शुभकामना दिनुभयो । रासस