सरकारले वातावरण संरक्षण ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम सूचना जारी गरेपछि उद्योग, प्रतिष्ठान एवं आयोजनाहरुले धमाधम वातावरणीय स्वःअनुगमनसम्बन्धी प्रतिवेदन बुझाउन थालेका छन् ।

कानुनी प्रावधानअनुसार चालु आर्थिक वर्षको नौ महिनामा २५ उद्योग, प्रतिष्ठान एवं आयोजनाले वातावरणीय स्वःअनुगमनसम्बन्धी प्रतिवेदन बुझाएका वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ । विभागले गत चैत ५ गते स्वःअनुगमन प्रतिवेदन पेस गर्ने सम्बन्धी जरुरी सूचना सार्वजनिक गरेको विभागका निमित्त महानिर्देशक तारादत्त भट्टले राससलाई जानकारी दिनुभयो ।

वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ मा वातावरण विभागले नेपाल सरकारले लागू गरेका वातावरणीय मापदण्ड पालनाको सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गर्ने प्रावधान छ । यसैगरी वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४५ मा प्रस्तावकले प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक छ महिनामा स्वःअनुगमन गरी सोको प्रतिवेदन विभागमा पेस गर्ने कानुनी व्यवस्था छ ।

विभागले देशभर रहेका उद्योग, प्रतिष्ठान एवं आयोजनाले वातावरण संरक्षण नियमावलीको नियम ४५ मा भएको व्यवस्थाअनुसार स्वःअनुगमन गरी विभागमा अनिवार्य प्रतिवेदन पेस गर्न सूचित गरेको छ । स्वःअनुगमन गरी प्रतिवेदन पेस नगरेमा प्रचलिन कानुनबमोजिम कारबाही हुने निमित्त महानिर्देशक भट्टले बताउनुभयो । रासस