गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घमा आबद्ध भएदेखि नै आफू सङ्घको संस्थागत हितमा लागेको उल्लेख गर्दै उहाँले सङ्घसंस्थाको उद्देश्य समाज सेवा र सामाजिक कार्य भएकाले जुनसुकै माध्यमबाट पनि समाज सेवा र सामाजिक कार्य गर्न सकिने बताउनुभयो ।

सङ्घको विवादतर्फ आफू जान नचाहेको स्पष्ट पार्दै उहाँले आफूलाई दिएको जिम्मेवारी निश्पक्ष ढङ्गले पूरा गरेको उल्लेख गर्नुभयो । घलले भन्नुभयो, “कानुनी परामर्श गरेरै महाधिवेशन सम्पन्न गरेको हो । त्यसबेला परराष्ट्र मन्त्रालयबाटै नगर्नु भन्ने परिपत्र आएको भए मैले रोक्नुपथ्र्यो तर परराष्ट्रबाट त्यस्तो केही आएको थिएन ।”

नयाँ पूस्तालाई समेट्दै सङ्घलाई समयानुकुल परिमार्जन गर्नुपर्छ भन्ने सोँच र परिकल्पनाका साथ ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उहाँले सङ्घमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताउनुभयो । पूर्वअध्यक्ष घलेले विदेशमा रहेका नेपाली समुदायको सञ्जालका रुपमा संयुक्त राष्ट्र सङ्घको मोडेलमा एउटा सञ्जाल सञ्चालन गर्न सकिने धारणा राख्नुभएको थियो ।रासस