नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल आठ बिघा दुई कठ्ठा १२ धुर जग्गामध्ये एक बिघा १० कठ्ठा जग्गामा ५० शय्याको ट्रमा सेन्टर बनाइने भएको छ ।

बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच ट्रमा सेन्टर बनाउनका लागि जग्गाको सम्झौता भएको छ । कम्पनीसँग भाडामा लिइएको सो जग्गामा अब सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण हुने छ । ट्रमा सेन्टर निर्माणपश्चात उक्त सेन्टर लुम्बिनी प्रदेशकै सुविधायुक्त स्वास्थ्योपचार थलोका रूपमा स्थापित हुने विश्वास लिइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुुभयो ।

ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु १० करोड विनियोजन गरिएको थियो । तर बनाउनका लागि जग्गा यकिन हुन नसक्दा उक्त रकम फ्रिज भएको थियो । ट्रमा सेन्टर “ढिलै भए पनि ट्रमा सेन्टर निर्माणका लागि जग्गा सुनिश्चित भएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय महत्वपूर्ण आयोजनाका रूपमा मानिएको ट्रमा सेन्टर निर्माण हुने सुनिश्चितताले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको सङ्घीय सांसद विनोद चौधरी बताउनुहुन्छ । ट्रमा सेन्टर निर्माणका लागि आव २०७९÷८० मा सङ्घीय सरकारले रु चार करोड विनियोजन गरेको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको ट्रमा सेन्टरको लागत रु ३५ करोड रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । रासस