स्वास्थ्य बीमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन । पर्वतमा हालसम्म झण्डै ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन् ।

राष्ट्रिय जनगणना, २०७८ का अनुसार पर्वतको कुल जनसङ्ख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ । यीमध्ये २४ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डको सम्पर्क कार्यालयका संयोजक तथा जनस्वास्थ्य निरीक्षक टीकाकुमारी श्रीसले जानकारी दिनुभयो । जिल्लाका सातवटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका २८ प्रतिशतले र सबैभन्दा कम महाशिला गाउँपालिकाका १३ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।

कुश्मा नगरपालिकाको कुल जनसङ्ख्या ३८ हजार सात सय ७४ रहेकामा ११ हजार ७३ जनाले बीमा गरेका छन् भने महाशिला गाउँपालिकाका आठ हजार दुई सय ३३ जनामध्ये एक हजार ६३ जनाले बीमा गरेका छन् । बिहादी गाउँपालिकाको जनसङ्ख्या १२ हजार पाँच सय २१ रहेकामा तीमध्येका एक हजार छ सय ७४ जनाले बीमा गरेका छन् । जुन त्यहाँको जनसङ्ख्याको १३ प्रतिशत हो ।

जलजला गाउँपालिकामा भने बीमा गर्ने धेरै छन् । सातवटा स्थानीय तहमध्ये तेस्रो धेरै स्वास्थ्य बीमा जलजला गाउँपालिकाका बासिन्दाले गरेका छन् । जलजलाको जनसङ्ख्या २१ हजार तीन सय ७५ रहेकामा तीमध्येका पाँच हजार चार सय २९ जना बीमाको पहुँचमा आएका छन् । रासस