यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको उहाँले बताउनुभयो ।

बस्ती बढी भएका ठाउँमा डढेलो लाग्ने गरेकाले सुराकी दिने व्यक्तिको नाउँ गोप्य राखी कार्यालयले प्रोत्साहन रकमको समेत व्यवस्था गर्दै आए पनि संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।

प्रायःजसो माथि वन र तल खेतबारी रहेका मानिसले वनमा डढेलो लगाउने गरेको पाइएको छ । उहाँले भन्नुभयो, “वनमा डढेलो लगाउँदा बन्ने खरानी पानी परेसँगै आफ्नो खेतबारीमा बगेर जाने र मल हुने सोचले आगलागीका घटना बढ्ने गरेको छ ।”

कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ । वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोटबिरुवालगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्लो समय पानी पर्न थालेसँगै आगलागीका घटनामा न्यूनीकरण भएको डिभिजन वन कार्यालयले जनाएको छ । रासस