पोखरा महानगरपालिकाले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ कृषकलाई वितरण गरेको छ । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

महाशाखाले समूहबाट प्रतिकिलो रु दुई सयमा खरिद गरी ५० प्रतिशत अनुदान दिएर रु एक सयमा कृषकलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । कृषक समूहबाट उत्पादित बीउ गण्डकी प्रदेश बीउविजन प्रयोगशालाले परीक्षण गरी प्रमाणीकरण गरेको छ ।

पोखराको रैथाने धान जेठोबुढो यहाँको मौलिक कृषि उपज मानिन्छ । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका गगनगौँडा, बेलबुटे, मालमूल, पटनेरीलगायत विभिन्न फाँटमा यो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पछिल्लो समयमा पोखरासहित देशका प्रमुख सहरमा हुने गरेको छ । जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति छन् ।

न धेरै गर्मी र न धेरै जाडो हुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् ।रासस