लुम्बिनी प्रदेशको रुपन्देहीमा मिटरब्याज पीडितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यलय भैरहवामा पीडितहरूले लामबद्ध भएर दिनहुँजसो उजुरी दिइरहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा चार सय १४ जना पीडितले उजुरी दिएका छन् । उजुरी दिने क्रम अझै जारी रहेको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “जो जसले उजुरी दिए पनि हामीले दर्ता गरेका छौँ । यसमा पछि छानबिन हुन्छ ।”

मिटर ब्याजको सन्दर्भमा सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले नै उजुरी तथा मुद्दामाथि छानबिन गर्ने भएकाले जिल्ला प्रशासन कार्यलयले उजुरी दर्ता गरी अनलाइन इन्ट्री गराइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । मिटर ब्याज भन्नाले लगानीकर्ता अर्थात साहुले क्रृणीसँग बैंक ब्याजदर भन्दा चारगुणा ब्याज असुल्ने, समयमा ब्याज नआएमा त्यसलाई पुनः साँवामा कायमगरी रकम असुल्नु हो ।

यसमा चक्रवर्ती ब्याज लगाउने प्रचलन हुन्छ । यसरी चक्रवर्ती ब्याजको फन्दामा परी धेरै सर्वसाधरणले आफ्नो घरबार, श्री–सम्पत्ति साहुको नाममा लेखाइदिँदासमेत क्रृण चुक्ता नभएको देखिन्छ । तराईमा आर्थिक अपराधको रूपमा फैलिँदै गएको मिटरब्याज प्रकरण समाधानका लागि राज्यले आयोग नै गठन गरी सबै जिल्ला प्रशासन कार्यलयमार्फत मिटरब्याज पीडितलाई निवेदन दिन आह्वानसमेत गरेको छ । मिटरब्याजमा पैसा लिँदा बैंक तथा वित्तीय संस्थामा जस्तो कानूनी जटिलता नहुने, तुरुन्तै एउटा कागज गरेको भरमा सहजरूपले साहु महाजनले दिने हुँदा गरिब तथा निम्न वर्गीय मानिसले यो कर्जाको प्रयोग अधिकतम गरेको पाइएको छ । रासस