म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने ढकायो साग कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशमा ढकायो पठाउने गरेको बताउनुभयो । “विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन दुई जनालाई एक दिनको ज्याला दिएर जङ्गलबाट ढकायो टिप्न लगाई सुकाएर राखेको छु”, उहाँले भन्नुभयो, “घुम्न आउने पर्यटकहरुले पनि किनेर लैजान्छन् ।”

मुस्ताङ जाने र फर्कने स्वदेशी पाहुनाहरुले पनि ढकायोको साग किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि हरियो ढकायो टिपेर सुकाई गुन्द्रुक बनाइएको बुढाथोकीले बताउनुभयो । उहाँले करिब एक सय किलोग्राम ढकायोको गुन्द्रुक बनाएर राख्नुभएको छ ।

विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराका मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रुपमा पाइन्छ । स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा ढकायोको गुन्द्रुकको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाहरुले ढकायोकै गुन्द्रुक किनेर लैजाने गरेका बताउनुभयो ।

जेठ महिना ढकायोको साग सङ्कलन गर्ने याम हो । म्याग्दीको दाना, नारच्याङ, शिख, घार, हिस्तान, राम्चे, कुइनेमङ्गलेका बासिन्दा ढकायो सङ्कलन गर्न जङ्गल जान थालेका छन् । दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइमा ढकायोको साग पाइन्छ । रासस