विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ ।
सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको केन्द्रको भवन पुनःनिर्माण हुन सकेको थिएन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो । भूकम्पपछि त भवनका धेरै संरचना क्षतविक्षत भएका छन् । भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोनाअघि नै बनाउने तयारी भएको थियो तर कोरोना महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन । भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रि–फ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्की बताउनुहुन्छ ।
भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे कार्यकालमा समेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन । प्राधिकरणले २०७८ पुसमै छ वर्षे कार्यकाल पूरा गरी विघटन भइसकेको छ । प्राधिकरण विघटन भएपछि यस्ता भवनको निर्माण गर्ने जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले रु ६५ करोडको लागतमा भवन बनाउन लागेको हो ।
सिंहदरबारअघि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि आँखा लगाएका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो जग्गा माग गरेको केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौलागाईँले सुनाउनुभयो ।रासस