भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कदै हुुनुहुन्छ ।
जापानका प्रधानमन्त्री फुमियो किसिदाको निमन्त्रणमा जी सेभेनको बैठकमा भाग लिने सिलसिलामा गत शुक्रबार जापानको हिरोसिमा प्रस्थान गर्नुभएका प्रधानमन्त्री मोदीले त्यहाँ रहँदा अमेरिकी राष्ट्रपतिलगायत जी सेभेनका नेतासँग वर्तमान विश्वले भोग्नुपरेका चुनौती र तिनको समाधानबारे छलफल गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा रहेका भारतीय मुलका अमेरिकी तथा अन्य भारतीयले प्रधानमन्त्री मोदीप्रतिको अनुराग देखेर आफू अचम्भित भएको तथा आगामी महिना हुने प्रधानमन्त्री मोदीको अमेरिकाको राजकीय भ्रमणका क्रममा आयोजना हुने एउटा कार्यक्रमको टिकट बिक्री खुल्ने बित्तिकै समाप्त भएकाले उहाँप्रतिको जनअनुराग र स्नेह अवर्णनीय रहेको बताउनुभएको थियो ।
अमेरिका, अष्ट्रेलिया, भारत र जापान सदस्य रहेको रणनीतिक समूह ‘क्वाड’को बैठकमा सहभागी उहाँले विश्वशान्ति र प्रगतिका निम्ति विश्व नेता एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्न आफूले भरमग्दुर प्रयास गर्न युक्रेनी राष्ट्रपतिलाई दिएको आश्वासनका साथै ‘अमेरिकी राष्ट्रपतिले तपाईँको लोकप्रियता देखेर मलाई इष्र्या हुन्छ,’ भन्नुभएका समाचार सेलाउन नपाउँदै पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले सूर्यास्तपछि पनि प्रधानमन्त्रीलाई मोदीको हार्दिक स्वागत गर्दै निहुरेर खुट्टा छोएका तस्बिर र समाचार भाइरल भए । रासस