गत साता आएको भीषण असिना पानीले क्षति पुर्याएको खाद्यान्न, तरकारी र फलफूल खेतीको अनुगमन गर्न र किसानका समस्या बुझ्न पश्चिमी म्याग्दीका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका छन् । असिनाको मारमा परेका किसानको समस्या बुझ्न मङ्गला र मालिका गाउँपालिकाका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका हुन् ।
किसानले भोगेका समस्या र मौसमले गरेको क्षतिबारे बुझ्न, क्षतिको तथ्याङ्क लिन र किसानको अवस्थाको बारेमा जानकारी लिन जनप्रतिनिधिसहित प्राविधिक कर्मचारी किसानका खेतबारीमै गएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले जनप्रतिनिधिसहित कृषि प्राविधिकलाई पालिकाभित्रका सबै वडामा खटाएको र शनिबारदेखि मङ्गलबारसम्म मङ्गला–३ र ४ मा पर्ने बरजामा अनुगमन तथा निरीक्षण गरिएको कृषि प्राविधिक बानियाँले जानकारी दिनुभयो ।
अनुगमन र निरीक्षणका साथै किसानलाई हौसला दिन, बजारीकरण, मल, बीउ ढुवानी, रोगकीराको समस्या बुझ्न र किसानले तयार पारेका मोडल फर्महरूको अवस्था बुझ्न अनुगमन सुरु गरिएको मङ्गला गाउँपालिकाले जनाएको छ । असिनापानीले खुल्ला रूपमा गरिएको मकै, गहुँ, तरकारी र सुन्तलाजातका फलफूल, आँपका फूल झारेर किसान समस्यामा रहेको मङ्गला–३ का वडाअध्यक्ष यामबहादुर रोकाले बताउनुभयो ।रासस