व्यास नगरपालिका–१० मा पर्ने मादी नदीमा केही व्यक्ति बगाउँदै गरेको भयावह दृश्य देखियो । देख्नेहरू अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए । तत्कालै नेपाली सेना डुङ्गा लिएर गोताखोर टोलीसहित बग्दै गरेकालाई बचाउन उद्धारमा जुट्यो । तत्कालै सेनाले उद्धार गर्दा नदीमा बग्दै गरेका पाँच÷छ जनाले पुनर्जीवन पाए ।

नजिकै डिलमा बसेर नेपाली सेनाले आज गरेको विपद् नमूना अभ्यास हेर्दै गरेकामध्ये स्थानीय टेकबहादुर बोटेले आफूलाई सम्हाल्न सक्नुभएन । “यस्तो विपद् शत्रुलाई पनि नपरोस्”, दायाँ हातले आँसु पुछ्दै ५० वर्षीय बोटेले भन्नुभयो, “यही नदीले पाँच महिना पहिले मेरी बुहारी मङ्गलीलाई पनि खायो । अहिले बुहारीको सम्झना आयो । त्यसैले मन सम्हाल्न सकिनँ ।”

यही मङ्सिर महिनामा व्यास–५ पाटनमा आफन्तको मृत्यु संस्कार सहभागी हुन अर्घौमा धारापानी घाटको जङ्गार तर्ने क्रममा ४१ वर्षीया बुहारी मङ्गलीको बगाएर मृत्यु भएको बोटेले बताउनुभयो । बोटेका अनुसार उक्त घाट तर्ने क्रममा बुहारी मङ्गलीलाई बगाएपछि करिब तीन सय मिटर तल शव फेला परेको थियो । त्यसअघि विसं २०७३ मा स्थानीय ५८ वर्षीय बुद्धिबहादुर बोटेको पनि सोही स्थानमा बगाएर मृत्यु भएको थियो । भैँसी तार्ने क्रममा बुद्धिबहादुरको मृत्यु भएको टेकबहादुरले बताउनुभयो ।

उक्त घटनापछि पानीसँग जबरजस्ती गर्न हुँदैन रहेछ भन्ने सिकेको उहाँले बताउनुभयो । विपद्को समयमा सूचना पाएलगत्तै उद्धारमा खटिन सुरक्षाकर्मी छिटो आउने गरी राज्यले व्यवस्था गर्नुपर्ने स्थानीय ४० वर्षीय टीकाराम थापामगरले बताउनुभयो । रासस