वर्षौँ पहिले देखिएको सपना ‘एक घर, एक धारा’ बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुसियाली छाएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२, इलुङ्गावासीले घरघरमा धारा ल्याउने भनेर धेरै पहिलेदेखि माग गर्दै आएका थिए ।

सङ्घीय बजेटबाट विनियोजित करिब तीन करोड लगानीमा आँधीखोला इलुङ्गा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चारणमा पुगेपछि स्थानीयवासी उत्साहित भएका हुन् । इलुङ्गादेखि एक सय ८० मिटर भर्टिकल हाइटमा रहेको थाक्थुमस्थित आँधीखोलाबाट लिफ्टिङ प्रणालीमार्फत घरघरमा पानी आउने उपभोक्ता समूहका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँले आयोजना २०७८ मा काम सम्पन्न हुने गरी २०७७ मा सम्झौता भए पनि बजेट अभावका कारण आर्थिक वर्ष २०७९/८० सम्मका लागि समयावधि थप गरिएको बताउनुभयो ।

घर्तीले बजेट अभाव हुने देखिएकाले सङ्घीय सरकारसँग थप बजेटको माग गरिएको जानकारी दिनुभयो । उहाँले बजेट अभाव नभए यही आर्थिक वर्षमा काम सम्पन्न हुने दाबी गर्नुभयो । उहाँका अनुसार हालसम्म २० हजार लिटर क्षमताको डिसी ट्याङ्की, ५० हजार लिटर क्षमताका तीनवटा घरघरमा पानी वितरण गर्ने ट्याङ्की, सम्पाइल इनार, मुख्य पाइपको काम सम्पन्न भएको छ ।

घर्तीका अनुसार अहिले बिजुली, शाखापाइप लाइन र धारा निर्माणको काम चलिरहेको छ । राधाकृष्ण आमा समूहकी अध्यक्ष विष्णु गौडेलले यसअघि ग्राभिटी सिस्टमबाट गाउँलेले पानी खाएको बताउनुभयो । उहाँले सबै टोलमा गरेर जम्मा २१ वटा धारा भए पनि हिउँदमा खानेपानीको हाहाकार हुने गरेको दुखेसो पोख्नुभयो ।

पानीको अभावले प्रशस्त मात्रामा पिउन र गाईवस्तुलाई खुवाउन समस्या हुँदै आएको थियो । यो आयोजना सम्पन्न भएपछि सामान्य करेसाबारीमा लगाउन, लुघा धुन र नुहाउन समस्या नहुने अध्यक्ष गौडेलको दाबी छ । आँधीखोला इलुङ्गा लिफ्टिङ खानेपानी आयोजनाबाट एक सय १२ घरपरिवार लाभान्वित हुनेछन् ।रासस