लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

आज शपथ लिनुभएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ ।

गत वैशाख १५ गते नियुक्त हुनुभएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो नेतृत्वको सरकारमा आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । यसका साथै गत वैशाख १५ गते नियुक्त बिना विभागीयमन्त्रीलाई पनि मुख्यमन्त्री चौधरीले आज जिम्मेवारी तोक्नुभएको छ ।

मुख्यमन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । सोही दिन नियुक्त नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।रासस