रामपुरमा निर्माण भएको पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पतालको नयाँ भवनबाट सेवा दिन थालिएको छ । अस्पतालमा उपकरण तथा थप दरबन्दीको व्यवस्थाका साथै नवनिर्मित भवनबाट सेवा प्रदान गर्न थालिएकोे हो ।
फागुनको पहिलो हप्ता उद्घाटन गरिएको उक्त भवनबाट करिब तीन महिना पछाडिदेखि सेवा सुरु भएको छ । चिकित्सकहितको सेवा दिने गरी रामपुर नगरपालिकाले कर्मचारी थप गरेपछि नयाँ भवनबाट सेवा सञ्चालन हुँदै आएको छ । यस अस्पतालबाट जनशक्ति थप भएपछि बिरामीले सहज सेवा पाउने भएका छन् । अहिले यस अस्पतालमा एक चिकित्सक, एक वरिष्ठ कविराज, एक कविराज एक बैध एक र दुई कार्यालय सहयोगी कार्यरत छन् ।
अस्पतालबाट नियमित पञ्चकर्म, पूर्वकर्म, ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, नागरिक आरोग्य सेवा, विद्यालय स्वास्थ्य कार्यक्रमलगायत सेवा प्रवाह भइरहेको रामपुर नगरपालिकाका आयुर्वेद शाखा प्रमख तथा वरिष्ठ कविराज चेमनप्रकाश पोखरेल बताउनुहुन्छ । चार जिल्लाको सङ्गमस्थलका रुपमा रहेको रामपुरमा स्वास्थ्य क्षेत्रमा व्यवस्थित, दीगो र भरपर्दो संरचनाबाट सेवा प्रवाहमा धेरै सहज भएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रको रूपमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरी सेवा दिन थालिएको छ ।
पुरानो भवनबाट खुम्चिएर सेवा दिनुपरेकामा अहिले नयाँ भवनबाट सेवा दिन सहज हुनाका साथै थप सेवा भएकाले स्वास्थ्योपचारमा धेरै राहत मिलेको स्थानीयवासी राधा अर्याल बताउनुहुन्छ । उहाँले नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्दै आउनुभएको छ । आयुर्वेदिक औषधिले स्वास्थ्यमा असर पर्दैन भन्ने मान्यता सेवाग्राहीमा रहेकाले पछिल्लो समय यसप्रति धेरैको आकर्षण बढेको छ । रासस