पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उहाँले निर्देशनसमेत दिएको बताउनुभयो ।
सङ्क्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ । सापकोटाका अनुसार झण्डै चार सय पशु सङ्क्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको केन्द्र प्रमुख डा सापकोटाले जानकारी दिनुभयो ।
एक सय चार डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उहाँले प्राविधिकलाई आग्रह गर्नुभएको हो । होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो स¬ङ्क्रमण बढी देखिएको हो । तराइका जिल्लामा देखिएको सङ्क्रमण क्रमशः बागलुङमा पनि आएको हो । पहिलो पटक अफ्रिकाको जाम्बियामा देखिएको रोग दुइ वर्ष अघि भारत र नेपालमा देखिएको थियो । अहिले भने यो रोग सङ्क्रमक भएर फैलिएको सापकोटाले जानकारी गराउनुभयो ।
जिल्लाका सबै पालिकास्थित पशुसेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो । यो रोग सङ्क्रमण भएको गाई भैँसीमा पाँच दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्काे पशुमा सर्ने गरेको भेटिएको हो । त्यसका लागि गोठ सफाइ गर्ने, सङ्क्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उहाँले बताउनुभयो ।
यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या देखिएको छ । कतिपय गाईले ८० प्रतिशतसम्म दूध घटाएको र बढाउन नसकिने अवस्था भएको सापकोटाको भनाइ थियो । यो रोगको निश्चित औषधि नभएकाले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताउनुभयो । ज्वरोकोलागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भइरहेको हो ।
अन्तक्र्रियामा बडिगाड गाउँपालिका पशु शाखाका बसन्त गौतम, गलकोटका शिव आचार्य, ताराखोलाका चिन्तामणी शर्मा, ढोरपाटनकी टेकमाया खड्का, तमानकी यमकुमारी घर्ती, काठेखोलाकी तुला गलामी निसीका कृष्ण चन्द र जैमिनीका कृष्ण ढकालले नियमित किसानको फर्म र घरघरमा खटिएर उपचार सेवा दिएको बताउनुभयो ।
कतिपय पालिकाले खोपकालागि रकमसमेत सङ्कलन गरेको तर चाहे जति खोप नपाएको गुनासोसमेत गर्नुभएको थियो । नेपालमै अहिले यो रोगविरुद्धको खोप अभाव भएकाले औषधि उपचारमै जोड दिनुपर्ने सापकोटाले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले किसानको लागि पशु र जमिननै सबै सम्पत्ति भएकाले प्राविधिकले यो समयमा उपचारमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आम नागरिकलाई यो रोगबारे जानकारीसमेत दिनुपर्ने धारणा राख्नुभएको थियो ।
सहायक प्रजिअ चित्राङगत बरालले किसानको समस्या समाधानमा प्रशासन पनि गम्भीर भएको बताउनुभयो ।
गण्डकीका समन्वय प्रमुखको बैठक ढोरपाटनमा
जिल्ला समन्वय समिति बागलुङको आयोजनामा गण्डकी प्रदेशका सबै समन्वय समितिका पदाधिकारीको संयुक्त बैठक ढोरपाटनमा सम्पन्न भएको छ ।
बैठकले पर्यटकीय क्षेत्र ढोरपाटनको प्रचारमा जोड दिएको बागलुङका प्रमुख अमर थापाले जानकारी दिनुभयो । उक्त भेलाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजना छिटो निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ । “हामीले बागलुङतर्फबाटै जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पहल गरेका छौँ”, थापाले भन्नुभयो, “यो सम्भव पनि छ ।” राज्यको ध्यानाकर्षण गरेर आगामी बजेटमा प्राथमिकता दिन पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।
दशकअघि सर्भेक्षण भएर बागलुङतर्फ नै आयोजना निर्माण गर्ने तयारी भएपनि राजनीतिक र क्षेत्रीय किचलोका कारण काम रोकिएको थियो । उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजना निर्माण गर्नसकेमा बागलुङमै आठ सय ७२ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ ।
त्यस्तै भेलाले जिल्ला समन्वय समितिले काम गर्ने केही क्षेत्रमा कानुन अभाव भएकाले गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारले छिटो कानुन निर्माण गर्नुपर्ने माग पनि गरेको बताइएको छ । भेलामा पुगेका अधिकांशले ढोरपाटनको पर्यटकीय महत्वबारे बुझे पनि अझै सडक सञ्जाल निर्माणमा ढिलाइ भएको बारे चासो राखेका थिए । सालझण्डी ढोरपाटन सडक आयोजनाले यहाँ काम गरे पनि पूरा भएको छैन । बर्षातमा अझै पनि ढोरपाटन जान आउन सास्ति छ । सडक कालोपत्रे भएमा ढोरपाटनमा पर्यटक बढाउन सकिने प्रमुख थापाले जानकारी दिनुभयो । रासस