सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । प्रतिपक्षी दलका सांसदहरुले भने नीति तथा कार्यक्रमले मुलुकको अहिलेको समस्या समाधान गर्ने गरी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।
बैठकमा जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रममा धेरै विषयबारे द्विविधा भएको उल्लेख गर्दै गफ दिएर नयाँ नेपाल निर्माण नहुने बताउनुभयो । उहाँले आफ्नै स्रोतले मात्र अपेक्षा गरेअनुसारको विकास गर्न नसकिने जिकिर गर्दै वर्तमान परिवेशमा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
आस्वासनले मात्र अब जनता चुप नलाग्ने उल्लेख गर्दै सांसद यादवले परिणाममुखी काम गर्न नसके अब नयाँ दल र पुराना दलको भाष्य स्थापित हुन लागेको बताउनुभयो । मुलुक बनाउन नीति तथा कार्यक्रममा सपना देखाउने कार्यक्रम हुनुपर्नेमा जोड दिँदै उहाँले युवालाई स्वदेशमै बस्न उत्प्रेरणा र कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । रासस