नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्मको पुँजीगत खर्च १९ प्रतिशत भएको छ । जिल्लामा सङ्घतर्फको पुँजीगत खर्च १९ दशमलव ३७ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक जितनारायण महतोले यस आर्थिक वर्षका लागि नवलपुरमा एकीकृत विनियोजन बजेट रू चार अर्ब ८२ करोड १६ लाख ७० हजार नौ सय २० रहेकामा जेठ ७ गतेसम्म रू ९३ करोड ४१ लाख ७३ हजार चार सय ५६ खर्च भएको जानकारी दिनुभयो । विकास बजेटको रुपमा रहेको पुँजीगत खर्च कम हुँदा समग्र जिल्लाको विकास निर्माणका गतिविधिमा प्रभाव पर्ने उहाँले बताउनुभयो ।

“पुँजीगत खर्च न्यून रहेपनि चालु खर्च भने ९१ प्रतिशत देखिएको छ । यस आवका लागि चालु खर्चअन्तर्गत रू छ अर्ब तीन करोड नौ लाख ५४ हजार दुई सय ३० विनियोजन भएकोमा हालसम्म रू पाँच अर्ब ५४ करोड ६८ लाख १४ हजार आठ सय ९८ खर्च भएको छ”, कोष नियन्त्रक महतोले भन्नुभयो । कार्यालयबाट हुने तलब, भत्ता, अनुगमनलगायत शीर्षकका बजेट चालु खर्चमा रहने भएकाले चालु खर्च लक्ष्यअनुसार नै देखिएको उहाँको भनाइ थियो ।

जिल्लामा हालसम्म पुँजीगत खर्चतर्फ सबैभन्दा बढी खर्च गर्ने कार्यालय नारायणगढ बुटवल सडक योजना (पूर्वी खण्ड) रहेको छ । महतोका अनुसार यस योजनाका लागि रू चार अर्ब ५९ करोड ९६ लाख २८ हजार बजेट विनियोजन भएकामा हालसम्म रू ८० करोड ८६ लाख ५५ हजार दुई सय ९४ खर्च भएको छ । “नारायणगढ–बुटवल सडक योजनाले अन्य कार्यालयले भन्दा बढी बजेट खर्च गरेको देखिए पनि योजनाको कुल बजेटको खर्च प्रतिशत निकाल्दा पुँजीगत खर्च न्यून नै छ”, उहाँले भन्नुभयो । रासस