जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवद्र्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बीउ रोपी महोत्सवको शुभारम्भ गर्नुभयो । कृषिमन्त्री खेतमा पुगेपछि मार्सी धानको महत्व अझै बढेको किसान बताउँछन् ।

पछिल्लो समयमा मार्सी धानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए । मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेको स्थानीयवासी मुनबहादुर ऐडीले बताउनुभयो । जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी धानलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारको कृषि मन्त्रालयले आवश्यक सहयोग गर्न भएको छ ।

मार्सी धानको चामल विश्व बजारसम्म सहजरुपमा पु¥याउनका लागि प्रदेश सकारले सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने कृषिमन्त्री शर्माले जानकारी दिनुभयो । नेपाली बजारमा पछिल्लो समयमा मार्सी चामलको माग अत्यधिकरुपमा हुने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटनलाई सिधै छुमचौरमै ल्याउन सके अझै यहाँको मार्सी धान चामलको बजार मूल्य बढ्ने भएकाले प्रदेश सरकारले छुमचौरलाई विशेष प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ । रासस