काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तीन सय ६५ मुद्दा दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरेका कारण यस्ता घटनामा वृद्धि हुन थालेको विश्लेषण गर्न थालिएको छ ।

अदालतका अनुसार सम्बन्ध विच्छेदको उक्त सङ्ख्या विसं २०७९ साउन महिनादेखि चैतसम्मको हो । चालु आवको उक्त घटना दर्ता अघिल्लो आवको भन्दा निकै बढी भएको अदालतका श्रेष्तेदार गोविन्द घिमिरेले बताउनुभयो । उहाँका अनुसार वैशाख महिनामा करिब दुई दर्जन सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । “अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदसम्बन्धी घटना यो वर्ष ह्वात्तै बढेको पाइयो, यो निकै डरलाग्दो सङ्ख्या हो”, घिमिरेले भन्नुभयो ।

जिल्ला अदालतमा गत वर्ष डेढ सयको हाराहारीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जनाइएको छ । जेठ महिना लाग्दै गर्दा अदालतमा दैनिक सम्बन्ध विच्छेदका घटना दर्ता भइरहेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्ध विच्छेदका कारण उनीहरुबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन् । बाल मस्तिकमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन ।”

सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पु¥याउने चिन्ता व्यक्त गर्न थालिएको छ । घिमिरेका अनुसार सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ । केहिले सम्बन्ध विच्छेदको सट्टा अंश चलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन् ।

जिल्लामा फौजदारी सरकारवादीअन्तर्गत दर्ता हुने मुद्दामध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणीसम्बन्धी मुद्दा रहेका छन् । हरेक महिना चारभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता हुने गरेको अदालती तथ्याङ्कले देखाएको छ । यही अवधिमा महिनाको अवधीमा ४१ करणीसम्वन्धी मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । जसमा जबरजस्ती करणीसम्बन्धी ३६ र बालयौन दुव्र्यवहारमा चारवटा र जबरजस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको हो । रासस