संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज मे २२ तारिखका दिन नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । यो दिवस सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि प्रत्येक वर्ष मे २२ तारिखका दिन मनाइँदै आएको छ । यस वर्ष ‘अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापन गरौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि यो दिवस मनाइएको छ ।

वन तथा वतावरण मन्त्रालयअन्तर्गतको वन तथ भूसंरक्षणले ललितपुरको फुल्चोकी संरक्षण क्षेत्रमा जैविक विविधताको सचेतनाका साथै एक कार्यक्रम गरिएको छ । कार्यक्रममा विभागमा जिल्ला समन्वय समिति ललितपुरका संयोजक ऋषिदेव फँुयाल, विभागका उपमहानिर्देशक नवराज पुडासैनी, मन्त्रालयका सहसचिव डा राजेन्द्र केसी, विभागका अर्का उपमहानिर्देशक रवीन्द्र महर्जन, डिभिजन वन अधिकृत रामकुमार भण्डारी, स्थानीय निकायका पदाधिकारीलगायतको सहभागिता थियो । कार्यक्रममा जैविक विविधताको महत्त्व, जैविक विविधता महासन्धि, समुदायको भूमिकालगायत विषयमा सहभागीहरूले धारणा व्यक्त गर्नुभएको थियो ।

जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सम्पूर्ण प्राणी, वनस्पति, सूक्ष्मजीव र तिनीहरूका बीचमा रहेका विविधतालाई जनाउँछ । यसैगरी, जीवजन्तुका बासस्थानमा हुने पर्यावरणीय फरकलाई पनि जैविक विविधता भन्ने बुझिन्छ । जैविक विविधतासम्बन्धी महासन्धि (१९९२) ले जैविक विविधताका तीनवटा महत्त्वपूर्ण अवयव (आनुवंशिक, प्रजाति र पारिस्थितिक प्रणाली विविधता) हुने कुरा उल्लेख गरेको छ ।

नेपाल विशिष्ट भौगोलिक अवस्थिति, मौसम तथा जलवायुको विविधता तथा विशिष्ट पारिस्थितिक प्रणालीको उपस्थितिले जैविक विविधताका दृष्टिले विश्वमै धनी देशमध्येमा पर्छ । जैविक विविधता रणनीति (२०१४–२०२०) अनुसार नेपालमा एक सय १८ किसिमका पारिस्थितिक प्रणाली विद्यमान छन् । विश्वमा पाइने कूल वनस्पति प्रजातिको तीन दशमलव दुई प्रतिशत तथा कूल प्राणी प्रजातिको एक दशमलव एक प्रतिशत नेपालमा पाइन्छ । त्यसैगरी, कूल स्तनधारीको पाँच दशमलव दुई प्रतिशत प्रजाति नेपालमा पाइन्छ ।

जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको २५औँ र एसियाको ११औँ स्थानमा पर्ने अध्ययनले देखाएको छ । देशको कूल भूभागको ४४ दशमलव ७४ प्रतिशत क्षेत्र वन तथा झाडी बुट्यानले ढाकेको छ । त्यसैगरी, संरक्षित क्षेत्रले नेपालको कूल भूभागको २३ दशमलव ३९ प्रतिशत क्षेत्र ओगटेको छ । सामाजिक–आर्थिक विकास तथा पर्यावरणीय सन्तुलनमा विशेष महत्त्व राख्ने यी प्राकृतिक स्रोतलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ ।

वन्यजन्तु एवं जैविक विविधताको संरक्षणमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धि प्रशंसनीय रहँदै आएको भए तापनि यस कार्यमा केही चुनौती पनि देखापरेका छन् । वन्यजन्तु बासस्थानको विनाश तथा क्षयीकरण, अतिक्रमण, अनियन्त्रित वन डढेलो, मिचाहा प्रजातिको प्रकोप, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, वन्यजन्तुका अङ्गको चोरी निकासी तथा अवैध व्यापार, मानव वन्यजन्तु द्वन्द्व मुख्य चुनौतीका रूपमा रहँदै आएका छन् ।रासस