पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो ।
नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाउनुभएको थियो । राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए ।
नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिनुभयो । “देशविदेशका पर्यटकलाई लक्ष्य गरी दरबार परिसर खुला गर्दैछौँ”, उहाँले भन्नुभयो, “रत्न मन्दिर खोल्ने वषौँदेखिको प्रयासले सार्थकता पाएको छ ।”
दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला नहुने सञ्चालक सदस्य शेर्पाले बताउनुभयो । “अहिलेलाई दरबार परिसर खुला हुनु नै ठूलो कुरा हो, तत्काललाई दरबारका सबै कक्ष र कोठासम्म पर्यटक लैजान मिल्ने अवस्था छैन”, उहाँले भन्नुभयो । दरबारका कोठा, भर्याङदेखि भित्री संरचना साँघुरा छन् । एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ ।
“दरबार परिसर नै पर्यटकलाई लोभ्याउने खालको छ, दरबारभित्रको भागलाई भिडियो प्रविधिबाट बाहिर देखाउने विषयमा सोचिरहेका छौँ”, सञ्चालक सदस्य शेर्पाले भन्नुभयो, “दरबार अवलोकन गर्न आउने पर्यटकलाई रोमाञ्चक अनुभूति लिएर फर्कने वातावरण हामी बनाउँछौँ ।रासस