यही जेठ १५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा पुरस्कृत तथा सम्मानित हुने कलाकार, पत्रकार तथा लेखकको नाम आज सार्वजनिक गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले यसपटक राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार राससकर्मी नारायण ढुङ्गानालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । उक्त प्रदर्शनीलाई ललितकला क्षेत्रकै सबैभन्दा ठूलो उत्सव मानिन्छ ।
यही जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को उद्घाटन समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, राष्ट्रिय ललितकला लेखन पुरस्कार भने नगेन्द्रप्रसाद पौड्याललाई प्रदान गरिने आज काठमाडौँमा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको थियो ।
प्रतिष्ठानले यस वर्षदेखि स्थापना गरेको कला प्रवर्द्धन सम्मान सङ्गीता थापालाई प्रदान गरिनेछ । यसपटक राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतका रुपमा अनिल चित्रकारलाई सम्मान गरिने प्रदर्शनीको कार्यकारी समितिका अध्यक्ष प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।
उहाँले विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रदर्शनीका अवधिमा १० भन्दा बढी विषयगत छलफल तथा अन्तरक्रिया पनि हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी हुँदैछ, म भन्नाले मेरो बोली, ज्ञान, आत्मासँग सम्बन्धित ललितकला हुन्छ भने मेरो देश भन्नाले राष्ट्रलाई चिनाउने कला भन्ने बुझिन्छ । यसैगरी, मेरो सिर्जना भन्नाले मभित्र भएको सिर्जनशीलता प्रस्तुत गर्ने कला भन्ने बुझिन्छ ।”
यही जेठ १५ देखि ३० गतेसम्म हुने कार्यक्रममा प्रतिष्ठानको कार्यालय र बबरमहलस्थित नेपाल कला परिषद्मा चित्रहरु प्रदर्शनी गरिनेछ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । नाफाका कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिए तापनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने सोच रहेको बताउनुभयो ।
उहाँले नेपालको रैथाने कलालाई अझै बाहिर ल्याउन नसकिएको बताउँदै हिजोआज कलाको शिल्प र प्रस्तुति शैलीमा दिनानुदिन प्रगति भइरहेको धारणा राख्नुभयो । उहाँले प्रतिष्ठानले आगामी वर्षदेखि प्रदेश–प्रदेशमा सर्भे, कला सम्मेलन, प्रदेशमा प्रतियोगितात्मक प्रदर्शनी गर्ने सोच बनाएको पनि जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिकाअनुसार हुन लागेको यस प्रदर्शनीमा छ सय १० कलाकारका छ सय ९७ कलाकृति राखिने जानकारी गराएको छ । यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने घोषणा पनि गरिएको छ ।
यस्तै, विभिन्न तहमा अध्ययनरत विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी चार जनालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
समारोहमा प्रदर्शनीका सद्भावनादूत अनिल चित्रकारले विश्वकै ललितकलाको स्रोत नेपाल भएकाले त्यसलाई सबैले विश्वसामु चिनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तो छ कला क्षेत्रको पुरस्कार र सम्मान
यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने भएको छ । कला क्षेत्रमा उहाँहरुले पुर्याएको योगदानको मूल्याङ्कन गर्न सम्मान गर्न लागिएको हो ।
प्रदर्शनीका अवसरमा समसामयिक चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरिनेछ । सोही विधाको ललितकला विशेष पुरस्कार रीता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरिनेछ ।
परम्परागत चित्रकला विधाअन्तर्गत राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरिनेछ । सोही विधाको ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोमजनलाई प्रदान गरिनेछ । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरिनेछ ।
यस्तै, सोही विधाको ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ ।
हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरिनेछ । सोही विधाको विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरिने भएको छ । लोककला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरिनेछ ।
यस्तै, परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरिनेछ भने विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरिनेछ । समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरिनेछ भने विशेष पुरस्कार टीकाराम पौडेल (शशि किरण) र मीना कायस्थलाई प्रदान गरिनेछ ।
यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेस प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरिनेछ ।
अरनिको सम्मानका लागि जनही रु एक लाख, राष्ट्रिय ललितकला पुरस्कारको राशि रु ६० हजार र विशेष तथा प्रदेशिक पुरस्कारको राशि रु २५ हजार रहेको आयोजकले जनाएको छ ।रासस