वीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो ।

महानगरपालिका प्रमुख राजेशमान सिंह आज बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले उहाँहरूसँग स्पष्टीकरण माग गरिएको महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाहीस्वरूप महानरपालिकाले स्पष्टीकरण सोधेको उहाँले बताउनुभयो । विद्यालयमा भौतिकरूपमा कतिपय शिक्षकहरू भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उहाँसँग स्पष्टीकरण माग गरिएको उहाँले प्रस्ट पार्नुभयो ।

महानगरप्रमुख सिंहले पठनपाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरू लागेको बताउनुभयो । यस्तै, महानगरप्रमुख सिंहले आइतबार बिहान वडा नं १४ पिपरामा रहेको नृसिंह मावि र वडा नं ४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माविको समेत अनुगमन गर्नुभएको छ । दुवै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ । विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उहाँले बताउनुभयो । रासस