तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ । जग्गा अधिग्रहणका लागि विगत तीन वर्ष अगाडि नै मुआब्जा टुङ्गिसके पनि प्रभावितले मुआब्जा नपाएको विषयमा कार्यालयले चासो राखेको हो ।

उद्यानबाट प्रभावित स्थानीयलाई मुआब्जा वितरणका लागि तीन वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण गरिसकेको जनाइएको छ । तर बजेट अभावमा प्रभावितले मुआब्जा पाउन नसकेपछि आगामी वर्षको बजेटमा यसलाई समावेश गरेर लैजाने विषयमा छलफल गरिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव ओमकुमारी पौडेलले जानकारी दिनुभयो ।

मुआब्जा वितरणका लागि आगामी वर्षको बजेटमा बजेट समावेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नवराज ढुङ्गानाको संयोजनमा वन मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालसहितको बैठक बसेको जनाइएको छ ।

स्वकीय उपसचिव पौडेलले रासससँग भन्नुभयो, “प्रधानमन्त्रीज्यूले यो विषयमा पटक–पटक चासो राख्दै आउनुभएको छ । सोहीबमोजिम सरोकारवालाको बैठक राखेर यो विषयमा छलफल गरेका छौँ । यो विषयमा राष्ट्रपतिज्यूसँग पनि भेटघाट गरेर जानकारी गराउने तयारी छ ।”रासस