पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना गरेको छ ।
आफैँ संरक्षक रहेको ईश्वर मन्दिर काठमाडाँैको सहयोगमा कोइरालाको टिमले क्याम्पसका लागि आवश्यक कम्प्युटरसहितका सामग्री सहयोग गरेपछि आजदेखि सेन्टर सञ्चालनमा आएको हो । जिल्लाका अधिकांश विद्यालयमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्दै आइरहेको टिमले अहिले भने भोजपुर क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि सहयोग गरेको सहयोगी संस्था ईश्वर मन्दिर काठमाडाँैका महासचिव सङ्केत कोइरालाले बताउनुभयो ।
महासचिव कोइरालाले भन्नुभयो, “आधुनिक प्रविधिको युगमा विद्यार्थीलाई अब कलम र पेन्सिलभन्दा पनि कम्प्युटर जरुरी भएकाले शैक्षिक संस्थामा कम्प्युटर शिक्षाको सुरुआत गर्ने उद्देश्यका साथमा अभियान सुरु गरिएको हो ।”
क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनमा आएसँगै अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा समेत सहयोग पुगेको छ । सामुदायिक विद्यालयको गुणस्तरीयता नभएको भन्दै अभिभावकले आफना नानीहरूलाई निजी विद्यालयमा पढाइरहेको अवस्थामा पूर्वअर्थमन्त्री कोइरालासहितको टिम भने भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि पर्नुभएको हो । रासस