भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भन्नुभयो, “म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।”
१५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो ।
जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, “उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।”
जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गर्नुभएको छ ।
युक्रेनलाई अत्याधुनिक लडाकू विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोशिमा पुग्नुभएको थियो ।
उहाँले जी–सेभेन साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरू सम्मेलनमा सहभागी हुन हिरोसिमा पुगेका छन् ।
मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिनुभएको थियो ।
युक्रेनी नेताले यसअघि इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गर्नुभएको छ । उहाँले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको हो ।
टेलिग्राममा जेलेन्स्कीले अन्तर्राष्ट्रिय लडाकू जेट गठबन्धनमा बेलायतको नेतृत्वका लागि सुनकलाई धन्यवाद दिएको बताउनुभएको थियो ।
युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलसँगको छलफलका क्रममा जेलेन्स्कीले युक्रेनी कृषि उत्पादनमा निर्यात प्रतिबन्ध र जुन ५ पछि थपएिका उपायहरूको ‘अस्वीकार्यता’ बारे आवाज उठाउनुभएको पनि उहाँले आफ्नो टेलिग्राम अकाउन्टमा बताउनुभएको छ ।
ईयूले छिमेकी देशहरूका अतिरिक्त आपूर्तिलाई कम गर्न मद्दत गर्न धेरै युक्रेनी उत्पादनहरूको आयातमा प्रतिबन्धहरूलाई जुन ६ सम्मका लागि अनुमोदन गरेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्कीको व्यक्तिगत भ्रमणको निर्णयको प्रशंसा गर्दै विकासशील देशहरूसँग संलग्न हुने अवसर ‘परिवर्तनको खेल’ हुन सक्ने बताउनुभएको छ ।रासस