सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ ।

रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताउनुभयो ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।

सन् १८०२ मा एक वर्षसम्म काठमाडौँको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गरिएको थियो । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ । अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने छ । रासस