बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा अत्याधुनिक वृद्धाश्रम निर्माण सम्पन्न गरिएको छ । निर्माणाधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण सम्पन्न गरिएको हो ।
नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गरिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । नगरपालिका र जुम्ली निर्माण सेवाबीच रु दुई करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरेर भवन निर्माण सम्पन भइसकेको छ ।
नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा सुविधासहित आश्रय दिन निर्माण गर्ने योजनाअनुसार वृद्धाश्रम निर्माण गरिएको खड्काले बताउनुभयो । वृद्धाश्रम नर्सिङ सेवासहितको हुनेछ । नगरपालिकाले कार्यविधि बनाएर वृद्धाश्रम सञ्चालन गर्ने तयारी थालेको हो ।
“सकेसम्म मानिसलाई वृद्धाश्रम लग्नुहुँदैन तर अहिले वृद्धाश्रम नभई नहुनेजस्तो भइसक्यो”, नगर उपप्रमुख खड्काले भन्नुभयो, “घरमा बस्ने वातावरण नभएका, हेला होचोमा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुसी जीवनयापन गर्न सिकाउने मूल उद्देश्य लिएर वृद्धाश्रम सञ्चालन ल्याउने योजनाअनुसार भवन निर्माण गरिएको छ, यो अन्य वृद्धाश्रमभन्दा निकै फरक ढङ्गले निर्माण हुने र वृद्ध–वृद्धा मैत्री हुनेछ ।”
अहिले २० कोठा रहेका एक तलाका दुई सुविधा सम्पन्न भवन निर्माण गरिएका छन् । सबै कोठामा शौचालय र स्नानगृहको व्यवस्था रहेको छ । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सेवा सुविधा एकै तलामा हुनेगरी भवनको निर्माण सम्पन्न भइसकेको नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो । उहाँले भवन निर्माण सम्पन्न भएर नगरपालिकाबाट हालै अनुगमन सम्पन्न गरिएको र भवन हस्तान्तरण अघिका केही महत्वपूर्ण काम गर्न निर्माण व्यवसायीलाई सुझाव दिइएको बताउनुभयो । रासस